मदन त्यसै थलामा परे, दुःखले वैलायो,
वैद्यले आई उनको नाडी घोरिई समायो ।
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ,
अरुको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ ।
मदन भन्छन्, ‘चरक पढ, सुश्रूत पल्टाऊ,
मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ,
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ ।
मनको रोगको औषधि के हो ? मलाई बताऊ ।
सम्झना भन्ने छटपटी हुन्छ, दर्शनपियास,
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास,
मगज घुम्छ भुँमरीभित्र मुटुमा दुख्तछ !
लक्षण सारा बाहिरबाट मनमा लुक्तछ !’
वैद्यले हेर्यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन,
मनको व्यथा कता हो कता ! औषधि पाएन ।
दिनका दिन झन् सार्हा भए बिचरा मदन,
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन,
‘हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ,
पाटी र धारा आमाको इच्छा तिमी नै पुर्याऊ ।
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको,
नछाडी जाऊन् सुसार अरु अकेली आमाको,
फुकाऊ तना, गङ्गाको जल देऊ न घुटुको,
औषधी छैन हे मेरी दिदी ! फुटेको मुटुको ।’
♦
बादल फाट्यो, चन्द्रमा हाँसी स्वर्गमा सुहाए,
साथमा तारा भएका शशी झयालमा चिहाए ।
बादल मिल्यो, सधैँका निम्ति मदन निदाए,
भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए ।
♦
आँखाको धूलो पखालिहाल्यौ हे भाइ ! बहिनी !
संसार हाम्ले बुझ्नु नै पर्छ काँतर नबनी ।
संसारलाई मुखमा हेरी कम्मर कसेर,
आकाशतिर पखेटा चालौँ पृथिवी बसेर,
खानु र पिउनु जीवन भए, जिउनु हरे ! के ?
पछिको आशा नभए कठै ! मानिस हरे ! के ?
पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर,
तल नै हेरी तल नै हेरी बिलौना नगर ।
मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद,
कर्ममै पुज ईश्वर भन्छ यो ‘लक्ष्मीप्रसाद ।’